अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गर्नुभएको हो । भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिनुभएको छ ।

उहाँले यसअघि हिजो परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुभएको थियो। दुईदिने नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुग्नुभएकी उहाँ आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किनुअघि आजै साँझ ५ बजे उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै पावर नेपाल भ्रमणमा आउनुभएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ ।

Back to top button