राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खस्यो,एक जना अनुपस्थित

दाङ । राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३ सय ४ जनाले मतदान गरेका हुन्।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्न भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो।

रुपन्देहीको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा अनुपस्थित रहेको कुँवरको भनाइ छ। निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख–उपप्रमुख गरेर ३ सय ५ जना मतदाता छन्। जसमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहेका छन्। निर्वाचनका लागि बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार हुनुहुन्छ। निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ।

Back to top button