टर्की र सिरियामा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

काठमाडौं । टर्की र सिरियामा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब २ हजार जनाको सिरियामा मृत्यु भएको हो ।

यस्तै, लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भएपनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ ।

उहाँले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गर्नुभएको छ । राष्ट्रपति एर्दोआनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गर्नुभएको छ । उहाँले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ ।

तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताहरुले त्यसप्रति असहमति जनाएका छन् । उनीहरुले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै भन्नुभएको छ,‘यो एकजुट हुने समय हो । यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ ।’

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

यस्तै, नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

Back to top button