उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै, राष्ट्रपति र सुदूरपश्चिम सरकार मुख्य एजेण्डा

काठमाडौं । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउसो ३ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिनुभयो।

हिजो बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि आज संयन्त्रको बैठक बोलाइएको हो। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिने विश्वासको मत, राष्ट्रपतिको उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीति मुख्य एजेण्डा रहेका छन्।

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुष २७ गते मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो। तर, गठबन्धन दल नाउपा आज बिहानसम्म पनि अनिर्णीत छ। नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफ्नो बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताउँदै आउनुभएको छ । नाउपाले मत नदिए रावल नेतृत्वको सरकार ढल्नेछ।

यस्तै, गत पुष १० गते राष्ट्रपति एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रले राष्ट्रिय सहमति भन्दै कांग्रेस लगायत विपक्षदलसँग छलफल गर्ने बताएपछि गठबन्धनभित्र शंका उत्पन्न भएको छ। राष्ट्रपति पदको निर्वाचन फागुन २५ निर्धारण गरिएको छ।

सरकारबाट रास्वपाका मन्त्रीले राजीनामा दिएपछि गृह, शिक्षा, श्रम मन्त्रालयको प्रधानमन्त्री आफैँले जिम्मेवारी लिउनुभएको छ । वन र खेलकुद मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बाँकी रहेको छ।

नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नाउपा, जनमत, जसपा छन्।

Back to top button