स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित एकजना पक्राउ

विराटनगर । स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट हिजो राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय मोटरसाइकलमा सवार रहनुभएका साहलाई विराटनगर–१० बाट राति ८ः३० बजेतिर पक्राउ गरिएको हो।

डीएसपी कार्कीले बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको बताउनुभयो। उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार साहको साथबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेको छैन्। बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ।

Back to top button