संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम हुनुभएको छ भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाउनुभएको छ । उहाँहरु दुवै उपमहासचिव हो ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल हुनुहुन्छ । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव हुनुहुन्छ ।

२०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

यस्तै, ४ कार्तिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले सम्हाल्दै आउनुभएको छ । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आउनुभएको थियो। जसलाई स्थायी समितिले वैधानिकता दिएको हो ।

सोही अनुसार स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले संगठन विभाग प्रमुखको हैसियतमा संगठन सम्बन्धि प्रस्तावसहितको रिपोर्टिङ गर्नुभएको थियो। अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले स्कूलिङ् विभागका प्रमुखको हैसियतमा स्कूल विभागले तयार पारेको पाठ्यक्रम लगायतका विषयमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

Back to top button