
काठमाडौं । विवेकशील साझा पार्टीको महाधिवेशन भोलिदेखि काठमाडौंमा हुने भएको छ। भोलि र पर्सी हुने महाधिवेशनको सबै तयारी पूरा भएको आयोजकले बताएको छ। प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
पार्टीको अध्यक्ष पदका लागि ३ जना नेताले दाबी गरेका छन्। हालसम्म अध्यक्षमा समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियारले दाबी गर्नुभएको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ।
यस्तै, कार्यक्रममा पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायतलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।