पार्टीको नाम र चुनाव चिह्न फेर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णय गरेको छ । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गर्नुभएको थियो।

जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भन्नुभएको थियो,‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र संरचना परिवर्तन गर्नेगरी प्रस्तुत राजनीतिक प्रस्ताव बैठकले पारित गरेको जानकारी दिनुभयो ।

उहाँले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा ३ महिनाको लागि कार्यक्रम प्रस्ताव गर्नुभएको छ । प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ ।

‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उहाँले प्रस्ताव गर्नुभएको छ,‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकार्नुभएको छ । प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गर्नुभएको छ ।

‘यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ,’ पार्टी सदस्य बराबर पनि समानुपातिक मत प्राप्त गर्न नसक्नुले संगठनको अवस्थालाई उजागर गरेको उहाँले निष्कर्ष निकाल्नुभएको छ ।

प्रचण्डले पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको आरोप लगाउनुभएको छ ।

‘हालको संगठनात्मक अवस्था न सदस्यको स्पष्ट नाम र सब्ख्या छ न त दाबी गरेका प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ । बैठक बस्न गाह्रो छ,’ उहाँले भन्नुभएको छ ,‘विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना, हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको छ ।’

यस्तै, प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

Cabinet Meeting_2079-01-16

Back to top button