उर्जामन्त्री लिङ्देन र युरोपियन युनियन राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालय पुग्नुभएकी डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारिकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरीत ग्यास उत्पादनको विषयमा पनि गृहकार्य भइरहेको बताउनुभयो ।

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा छलफलमा रहेको बताउँदै लिङ्देनले भन्नुभयो,‘निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।’

छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउँदै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताउनुभयो।

उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समिसन लाइन र अन्य विदेशी मुलुकसँगको व्यापारका लागि समानान्तर रुपले ट्रान्समिसन लाइन विस्तार गरिने बताउनुभयो । लिङ्देन र राजदूत डिप्रेजबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रञ्जित प्रसाईंले जानकारी दिनुभयो ।

Back to top button