
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम आज स्वदेश फर्किँदै छ।
हिजो भएको फाइनलमा बंगलादेशसँग ३–० गोलको नतिजामा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बन्नु परेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिम बिहान ११ः३५ बजे विमान बंगलादेशमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले १–१ गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाउनुभएको थियो।
शाहिदाले ४२औं मिनेटमा गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २–० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।
निर्धारित ९० मिनेटको खेल सकिन ३ मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३–० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष २ टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।
यस्तै, नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।