उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा,जनमत र नाउपा अनुपस्थित

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, सरकारलाई पूर्णता दिन आवश्यक पहल कदमी बढाउने तथा आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको छ।

बैठकमा सरकारलाई समर्थन गरेपनि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन संयन्त्रका नेताहरूले रास्वपा सभापति रवि लामिछानेलाई आग्रह गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो। संयन्त्रमा रहेका जसपा, जनमत तथा नागरिक उन्मुक्ति पार्टीका नेता भने बैठकमा सहभागी थिएनन्।

यस्तै, सरकारबाट रास्वपा बाहिर निस्कनु, सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिनुले सत्ता गठबन्धनभित्र खटपट भएको देखिन्छ। आज यही खटपट मिलाउने विषयमा पनि शीर्ष नेताले छलफल गरेका छन्।

Back to top button