कांग्रेसबाट राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा. महत

भरतपुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँको भनाइ थियो ।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो। प्रवक्ता डा. महतले भन्नुभयो,‘ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।’

कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उहाँले स्पष्ट पार्नुभयो। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाइ छ।

यस्तै, फरक प्रसङ्गमा प्रवक्ता डा. महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘राजा चाहिन्छ भन्ने पनि छन् । चाहिँदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ?।’

Back to top button