त्रिचन्द्र क्याम्पसमा पुनर्निर्माणको काम सुरू

काठमाडौं । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको काम सुरू भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले क्याम्पसको पुनर्निर्माण सुरू गरेको हो ।

२ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णले बताउनुभयो । आयोजना उपनिर्देशक कर्णका अनुसार पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको छ ।

रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको आयोजना उपनिर्देशक कर्णले जानकारी दिनुभयो । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुनर्निर्माण गर्न सम्झौता भएको उहाँले बताउनुभयो ।

आयोजनाले नै अब घण्टाघरको घडीलाई स्वचालित बनाउनका लागि पनि अध्ययन सुरु गरेको छ । आयोजना उपनिर्देशक कर्णले भन्नुभयो,‘अहिले घण्टाघरको घडी १ जना व्यक्तिले गेयरहरु चलाउँदै आउनुभएको थियो । तर अब स्वचालित बनाउने अध्ययनको काम भइरहेको छ ।’

Back to top button