देश विकास नभएसम्म जनताले न्याय पाउँदैनन् : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति आवश्यक भएको बताउनुभएको छ ।

देशमा ठूला राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आमजनताको आर्थिक सामाजिकस्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निरासा र अन्योलता छाएको बताउँदै देशलाई नयाँ वैकल्पिक शक्ति चाहिएको बताउनुभयो।

विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले मुलुकको नीति निर्माण गर्ने थलो राजनीति भएकाले युवा वर्गको सहभागीता अनिवार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘नीति निर्माण गर्ने थलो राजनीति नै हो। यसमा सबै सहभागी हुनुपर्छ। विश्वका राम्रा अनुभव सिकौं र नेपाल बनाउन लागौं। अबको राजनीतिमा युवाहरूको खाँचो छ।’

उहाँले देश विकास नभएसम्म जनताले न्याय नपाउने बताउँदै जनताको सहभागीता राज्यका साधन स्रोतमा भएपछि मात्रै मुलुको विकास हुने स्पष्ट पार्नुभयो।

अबको राजनीतिले लोकतन्त्रलाई बचाएर संस्थाहरूलाई मजबुत बनाएर सुशासन र समृद्धि ल्याउनुपर्ने उहाँको भनाइ छ।

Back to top button