इनरुवा अस्पतालका ८ चिकित्सकद्धारा सामूहिक राजीनामा

विराटनगर । डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई हिजो सामूहिक राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरुमा डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल हुनुहुन्छ ।

 उहाँहरुमध्‍ये ४ जना छात्रवृत्तिका र ४ जना प्रदेश सरकारले करारमा राखिएको चिकित्सक हो । राजीनामा दिनुभएकी डा. श्रेया पंगेनीले यस्तो घटना पटक–पटक भएको र चिकित्सकलाई मानसिक तनाव दिएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताउनुभयो।

‘यो हिजो घटनाले मात्रै राजीनामा दिएका होइनौं । अस्पतालका चिकित्सक पटक–पटक मानसिक तनाव दिने, धम्काउने काम भइरहेको छ,’ डा. पंगेनीले भन्नुभयो,‘व्यवस्थापनले गरेको मनपरी बोल्ने चिकित्सकलाई जागिरबाट निकालियो । अहिले पनि केही डाक्टरको सरुवा गर्ने वातावरण मिलाउनु भएको छ ।’

स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।

‘अस्पतालमा उपचारमा बाधा पुर्याउने मान्छेलाई कारबाही गर्ने कानुन समेत बनेको छ । हाम्रो अभिभावक उहाँ हो नि । तर, उहाँले ती बिरामी पक्षका मान्छेलाई समर्थन गर्दै सँगै लिएर चिया खानजानु भयो । यस्ता खालको प्रवृति देखाउनुभएको उहाँले ३–४ पटक भइसकेको छ,’ डा. पंगेनीले भन्नुभयो ।

यस्तै, चिकित्सकले जारी गरेको सामूहिक राजीनामा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामीमाथि मानसिक तनावमा भएको र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको उल्लेख छ ।

Back to top button