प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ : सांसद शाही

काठमाडौं । राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले उहाँले माफी माग्नुपर्ने बताउनुभएको हो ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उहाँले भन्नुभयो,‘साथै सम्माननीय राष्ट्रपतिले यो विषयमा चिकित्सकसँग माफी मागन हार्दिक अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारी हिजो संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

Back to top button