
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका रहेको बताउनुभएको छ ।
प्रेस युनियन दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने भनेरै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिइएको बताउनुभयो।
उहाँले भन्नुभयो,‘दलहरूले धरातलीय अर्थाथलाई चाँडो बिर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ। सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ, त्यो क्षमता कांग्रेससँग पनि छ। कांग्रेस सत्तामा जानैपर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छौं।’
बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गर्नुभयो।
जनताको अभिमतबाट बनाईएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताउनुभयो।
मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि, नागरिकको जनवीविका उकास्न तर्फ दलहरु केन्द्रित हुन आग्रह गर्नुभयो।