भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो ।

अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उहाँले बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’

यसका लागि सबल, सक्षम र गतिशील अख्तियार चाहिने भन्दै उहाँले कानूनी सुधार, स्रोतको व्यवस्थापन, जनशक्ति परिचालन तथा संरचनागत सुधारमा सरकारको निरन्तर सहयोग रहने बताउनुभयो ।

संविधानले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अख्तियारलाई सरकारले हरप्रकारको सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन यही वर्षभित्र संशोधन गर्न प्रयास गर्ने उहाँले बताउनुभयो ।

Back to top button