प्रधानसेनापति म्याराथन उपाधि राजन रोकायलाई

काठमाडौं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जित्नुभएको छ । ४२ दशमलव १९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो ।

नेपाल आर्मीको मुख्यालय भद्रकालीमा आज आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गर्नुभयो ।

गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जित्नुभएका आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो हुँदा अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत तेस्रो हुनुभयो । उहाँले २ घण्टा २२ मिनेट २२ सेकेण्डको टाइमिङ निकाल्नुभयो ।

हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि जित्नुभयो ।

१३औं दक्षिण एसियाली खेलकुद सागका कांस्य विजेता दीपकले १ घण्टा ४ मिनेट ६ सेकेण्डसहित उपाधि जित्दा आर्मीकै मुकेश पाल १ घण्टा ४ मिनेट ५६ सेकेण्डको टाइमिङसहित उपविजेता बन्नुभयो । १ घण्टा ५ मिनेट १५ सेकेण्डमा दूरी पूरा गरेका बाग्लुङका तीर्थ पुन तेस्रो हुनुभयो ।

महिलातर्फको उपाधि जित्नुभएकी राजपूराले १ घण्टा १४ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गर्नुभयो । १ घण्टा १९ मिनेट ३ सेकेण्डसहित आर्मीकी पूर्णलग्क्ष्मी न्यौपाने दोस्रो र १ घण्टा २१ मिनेट २९ सेकेण्डमा दूरी पूरा गर्नुभएकी आर्मीकै निर्मला केसी तेस्रो हुनुभयो।

सैनिक अधिकृत १० किलोमिटर दौडमा पुरुषतर्फ सुजन ऐडी र महिलातर्फ अस्मिता जिसीले उपाधि जित्नुभयो। १० किलोमिटर छात्र÷छात्रामा क्रमसः पिनाकल एकेडेमीका विकेश घिमिरे र राष्ट्रिय सेवा दलकी सोनी घतानीले उपाधि जित्नुभयो ।

Back to top button