काठमाडौं । भूकम्पका कारण टर्की र सिरियामा हिजोसम्म २४ हजार भन्दा बढिको मृत्यु भएको छ । भूकम्पग्रस्त क्षेत्रमा रहेका नेपाली सकुशल रहेका र सुरक्षित स्थानतर्फ गइरहेका बताइएको छ ।
अहिलेसम्म कोही नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङले जानकारी दिनुभयो। ‘नेपालीहरूको अहिलेसम्म मृत्यु भएको जानकारी आएको छैन’, अध्यक्ष घिसिङले भन्नुभयो, ‘समस्यामा परेकाहरूलाई समन्वय गरी सहजीकरण गरिरहेका छौं।’
प्रभावित क्षेत्रमा रहेका नेपालीलाई अन्य ठाउँमा सार्ने काम भइरहेको उहाँको भनाइ छ। ‘घरेलु कामदार, विद्यार्थी र होटलमा काम गर्नेहरू ३० जना सिफ्ट भइसकेका छन्’, घिसिङले भन्नुभयो,‘केही विद्यार्थीलाई कलेजले पनि सिफ्ट गरिरहेको छ।’
एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले ३० मध्ये १४ जना विद्यार्थी र अरू हाउसमेड (घरेलु कामदार) रहेका बताउनुभयो । ‘धेरैजसो नेपाली घरबेटीसँगै सुरक्षित ठाउँमा गएका छन्’, महासचिव पौडेलले भन्नुभयो,‘केही जागिर र कामको कारणले भूकम्पप्रभावित क्षेत्रमै छन्।’ आश्रयस्थल र होटलमा बसेका उहाँको भनाइ छ।
यस्तै, झापाकी पूजा मगर ५ दिनपछि भेटिनुभएको छ । शुक्रबार श्रीमानको सम्पर्कमा आएको जनाइएको छ। उहाँ घरेलु कामदारका रूपमा त्यहाँ कार्यरत हुनुहुन्छ । भूकम्पका कारण विश्वविद्यालय बन्द भएका छन्। विद्यार्थी शाकिल शैखले १८ वर्षमुनिका केही विद्यार्थी टर्कीमा रहेको बताउनुभयो। विद्यार्थीमा मानसिक त्रास कायमै रहेकाले नेपाल फर्किन खोजेको उहाँको भनाइ छ। भूकम्पग्रस्त क्षेत्रमा रहेका अन्य देशका विद्यार्थी भने घर फर्किसकेका छन्।
नेपाली विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका हुन्। घर फर्किए छात्रवृत्तिमा असर पर्नेमा उनीहरू चिन्तित छन्। समस्या नपर्ने गरी स्वदेश फर्किने वातावरण मिलाइदिन उनीहरूले आग्रह गर्दै आएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ५ वर्षमा ५ हजार ५ सय १६ जना टर्की गएका छन्। ३ हजार ४ सय ८८ पुरुष र २ हजार २८ महिलाले टर्कीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ। तर, टर्की र सिरियामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। गैरआवासीय नेपाली संघले पनि तथ्यांक राख्न सकेको छैन। २ हजारभन्दा बढी नेपाली टर्कीमा बसोबास गर्ने गरेको संघको अनुमान छ। संघको मिडिया कम्युनिकेसन डेपुटी कोडिर्नर बाबा राजेश्वरी थापाले भन्नुभयो,‘कोरोनाअघि ४ हजारभन्दा बढी नेपाली थिए। अहिले २ हजारजति रहेको हाम्रो अनुमान छ।’
पौडेलका अनुसार सम्पर्कमा आएका सबै जना सुरक्षित स्थानमा छन्। खानाको व्यवस्था पनि नगरपालिका र रेडक्रसलगायत संघ–संस्थाले गरिरहेको उहाँले बताउनुभयो । खाना, कपडालगायत अत्यावश्यक वस्तुको समस्या नरहेको उहाँको भनाई छ ।
भूकम्प प्रभावित क्षेत्र टर्कीको मुख्य सहर इस्तानबुलबाट १ हजार २ सय किलेमिटर टाढा पर्छ। भूकम्प गएकै दिन गत सोमबारदेखि एनआरएनए टर्कीले समन्वय गरी प्रभावित क्षेत्रमा रहेका नेपालीको खोजी गरिरहेको छ। एनआरएनका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले पाकिस्तान राजदूतावास र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी त्यहाँ रहेका नेपाली र नाबालिग विद्यार्थीको जतिसक्दो छिटो उद्धार गर्न पहल गरिरहेको बताउनुभयो।
यस्तै, ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलका २ शक्तिशाली भूकम्प गत सोमबार गएको थियो। त्यसपछि परकम्पले पनि टर्की त्रसित छ। ठूला–ठूला भवन भत्किएका छन्। बाटो भत्किएको छ।
भूकम्पग्रस्त क्षेत्रमा जाने बाटोसमेत अवरुद्ध रहेको घिसिङले बताउनुभयो। ‘समन्वय र सम्पर्क बढाएर समस्यामा परेका नेपालीलाई उद्धार गर्ने र राहत दिने काम गरिरहेका छौं’, उहाँले भन्नुभयो,‘अनुमति लिएर केही राहत बाँड्ने तयारी छ।’ आर्थिक संकलन अभियानमा नेपाली समुदायको उत्साहजनक सहभागिता भइरहेको घिसिङले बताउनुभयो।
विश्व स्वास्थ्य संगठनका अनुसार आवास, पानी, इन्धन र विद्युत् अभावका कारण अझै कैयौंले ज्यान गुमाउन सक्ने देखिएको छ। अत्यधिक चिसोका कारण हजारौं भूकम्पपीडित थप जोखिममा परेका छन्। टर्कीको तापक्रम माइनसमा छ।
भूकम्पको ५ दिनसम्म पनि क्षतिग्रस्त भवनका भग्नावशेषबाट जीवितै उद्धार भइरहेको छ। ९४ घण्टापछि उद्धार गरिएका एक युवकले पिसाब पिएर बाँचेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उद्धार कार्य अझै जारी रहेकाले केही जीवितै भेटिए पनि मृतकको संख्या पनि बढ्दै गएको घिसिङले बताउनुभयो।
यस्तै, सिरियाको अलेप्पोमा क्षति भएको छ। भूकम्पले व्यापक क्षति पुर्याएको सिरियामा समयमै राहत पुग्न सकेको छैन। त्यहाँको अवस्था झनै गम्भीर हुँदै गएको विवरण सार्वजनिक भएका छन्। सिरियामा अन्तर्राष्ट्रिय राहत सामग्री पनि ढिलो पुगेको जनाइएको छ। गृहयुद्धको चपेटामा परेको राष्ट्रमा भूकम्पका कारण झन् आक्रान्त बनेको छ। त्यहाँ पूराना मात्र नभई भूकम्पले नयाँ घर पनि भत्काएको छ।