सरकार र चिकित्सकबीच ६ बुँदे सहमति,आन्दोलनका सबै कार्यक्रमहरु स्थगित

काममाडौं । सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आज बिहान सिंहदरबारमा सरकार र चिकित्सकबीच भएको वार्तामा घाइते चिकित्सक डा. जेनीथलाल सिंहलाई उपचारको व्यवस्था सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको हो।

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको वार्तामा सहभागी राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक रूद्र मरासिनीले जानकारी दिनुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा गत शुक्रबार ड्युटीमा रहनुभएका वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. सिंहमाथि कुटपिट गरेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए।

डा. सिंहमाथि कुटपिट गर्ने प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ ।

Back to top button