साढे २ खर्बले घटाउदैँ सरकारले गर्‍यो बजेटको संशोधन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।

तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको छ । उहाँले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाउनुभएको हो ।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताउनुभएको छ ।

त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ । वित्तीय व्यवस्थामा २ खर्ब ३० २१ करोड रुपैयाँ छुट्याइएकोमा २ खर्ब १४ करोड मात्र छुट्याइएको छ ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य पनि घटाउनुभएको छ । गत जेठ १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो । तर घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

Back to top button