खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी अन्तिक चरणमा

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को राजधानी विराटनगरमा हुने भएको छ। प्रजातन्त्र दिवसका दिन फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ।

आज विराटनगरमा बसेको मूल समारोह समितिको बैठकमा महाधिवेशनको ८० प्रतिशत तयारी सम्पन्न भएको खेलकुद महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न खेलकुद गतिविधिको आयोजना गरिने बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नेकोस राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गर्ने छ।

फागुन २ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन उप–प्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्ने बताइएको छ ।

उक्त प्रतियोगिताको समापन महाधिवेशन उद्घाटनकै दिन हुने छ। महाधिवेशनका अवसरमा महासंघले प्रथम संस्करणको केपी ओली रोडरेस (सडक दौड) प्रतियोगितासमेत आयोजना गरेको छ।

नेकोस राष्ट्रिय एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरूद्र चौधरीको संयोजकत्वमा हुने रोडरेसको उद्घाटन ओली स्वयंले गर्नुहुने छ । चौधरीका अनुसार रोडरेसमा प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार दिइने छ। त्यसबाहेक चौथो र पाँचौं हुनेले क्रमसः ८ र ५ हजार नगद पुरस्कार पाउने उहाँले बताउनुभयो।

महासंघका केन्द्रीय संयोजक बस्नेतका अनुसार विशाल जनसभासहित आयोजना गरिने महाधिवेशनको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिताहरू हुने छन्।

उहाँका अनुसार महाधिवेशन उद्घाटनका दिन कराँते, उसु, तेक्वान्डोलगायतका खेलहरू प्रदर्शन गर्ने तयारी छ। दोस्रो राष्ट्रिय महाधिवेशनको गीतमा सांस्कृतिक कार्यक्रमसमेत गरिने जानकारी बस्नेतले दिनुभयो।

उहाँका अनुसार विराट नर्सिङ होमदेखि पूर्वतर्फ रहेको मैदानमा उद्घाटन गरिने महाधिवेशनको बन्दसत्र भने विराटनगर महानगरपालिका–३ स्थित मनासलु पार्टी प्यालेसमा हुने छ।

बन्दसत्रमा ५ सय प्रतिनिधिसहित १ हजार जनाको सहभागिता हुने उहाँले बताउनुभयो। ‘नेपाल खेलकुद महासंघ खेल क्षेत्रमा मुलुककै अगुवा र अभिभावकीय संगठन हो,’ उहाँले भन्नुभयो,‘महासंघको महाधिवेशनलाई भव्यता प्रदान गर्न तयारी तीव्र रूपमा भइरहेको छ।’ बस्नेतका अनुसार महाधिवेशनलाई लक्षित गरेर विभिन्न उप–समितिहरू गठन गरिएका छन्।

बस्नेतकै संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन उप–समिति बनाइएको छ। त्यसबाहेक मूल समारोह तथा मञ्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, खेलकुद प्रदर्शन, अतिथी सत्कार, आवास व्यवस्थापन, विधान मस्यौदा र आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ।

‘भव्यता प्रदान गरेर खेल क्षेत्रमै तरंग ल्याउने एउटा उत्सवका रूपमा महाधिवेशनको आयोजना हुने छ,’ बस्नेतले भन्नुभयो,‘खेल क्षेत्रका लागि उचित नीति निर्माण, खेलाडीको प्रोत्साहन र संरक्षणमा हामी केन्द्रित हुने छौँ।’ खेलाडीले खेल क्षेत्रबाट बाँच्नसक्ने अवस्था निर्माण गर्न आफूहरू सक्रिय भएर लागेको उहाँको भनाइ छ।

Back to top button