जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको रूपमा मनाऔं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपील गर्नुभएको छ ।

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव रूपमा मनाउन अपील गर्नुभएको हो ।

उहाँले जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको दाबी गर्नुभएको छ ।

‘नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो। साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो।’ शुभकामना सन्देशमा भनिएको छ, ‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ। महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।’

Back to top button