देउसामा निवर्तमान वडाध्यक्षको घरमा आगलागी, एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख बढीको क्षति भएको छ।

आज बिहान ३ बजेतिर निवर्तमान वडाध्यक्ष राम संर्घष किराँतीको घर आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आगलागीबाट किराँतीको ढुंगा र सिमेन्टले बनेको टिनको छानो भएको २ तले घर र भित्र रहेको नगद ६० हजारसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो।

यस्तै, घटनामा एक जना घाइते भएका छन्। आगो लागेपछि भाग्ने क्रममा सोही घरमा बस्दै आएका युवराज खत्री सामान्य घाइते भएको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो। खत्रीको टाउको र हातखुट्टामा चोट लागेको छ।

उहाँको ग्रामिण स्वास्थ्य चौकी देउसामा उपचार भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो। विद्युत सर्ट भएर सुरु भएको आगोले घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको थियो।

Back to top button