
काठमाडौं । फाइजरको बुस्टर डोज ‘बाइभ्यालेन्ट’को ३ लाख ४५ हजार ६०० खोप आज नेपाल भित्रिएको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले आज पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,‘१५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको हो। फेरि केही दिनमै क्रमिक रुपमा खोप आउनेछ।’
कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो। अब फागुन ४,८ ,११ र १५ गते क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ।
उहाँका अनुसार गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिनेछ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।