दुबईमा नेपाल सिनेमा फेस्ट सुरु

व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ ।

यूएईको समयानुसार हिजो राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे ।

नेपाल सिनेमा फेस्टको प्रचार–प्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरुको उपस्थिती थियो।

यस्तै, बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताउनुभयो । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ । नेपाली फिल्मका वास्तविक दर्शक मध्यपूर्वमै हुनुहुन्छ,’ अध्यक्ष केसीले भन्नुभयो । नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन अध्यक्ष केसीले यूएईस्थित फिल्ममेकरलाई आग्रह गर्नुभयो । साथै, यूएईले हलिउड र बलिउडलगायत फिल्मलाई सुटिङमा इन्सेन्टिभ (प्रोत्साहन) दिएजस्तै नेपाली फिल्मलाई पनि त्यो सुविधा उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पुर्‍याउन एनआरएनएले सहयोग गर्ने बताउनुभयो । ‘यहाँ पनि नेपाली फिल्म नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकमाझ पनि लैजानुपर्ने जरुरी छ,’ उहाँले भन्नुभयो ।

सञ्चारकर्मी तथा कागबेनी फिल्मका निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने क्राफ्टका फिल्म बनाउन जरुरी रहेको बताउनुभयो । ‘अहिले पनि रामबाबु गुरुङका फिल्महरु हेरेर मैले धेरै कुरा सिकिरहेको छु,’ उहाँले भन्नुभयो ।

फेस्टिभल सुरु हुनुअघि बोर्डले दुबईमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्ने छ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

यस्तै, फेस्टिभलको दोस्रो दिन आज रेडकार्पेट समारोह, अवार्ड घोषणालगायत कार्यक्रम तय गरिएका छन् ।

Back to top button