जनयुद्ध स्थापित गर्न ढिलै भए पनि सार्वजनिक बिदा दिने निर्णय गरेका हौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताउनुभएको छ ।

आज २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताउनुभएको हो ।

उहाँले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका भन्दै उहाँले परिवर्तनको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले माओवादी आन्दोलनका विभिन्न धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभयो ।

आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उहाँले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभएर राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । वैधानिक तवरले जनयुद्धलाई स्थापित गर्न ढिलै भएपनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो।

Back to top button