विमला वलीद्धारा पार्टी परित्याग

दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गर्नुभएको छ । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उहाँले पार्टी परित्याग गर्नुभएको हो ।

उहाँले माघ २४ गते नै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाउनुभएको थियो । उहाँले आफ्नो राजनीतिक उतार चढावका बेलामा पार्टीले सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो’ उहाँले भन्नुभयो,‘पार्टीले ‘युज एण्ड थ्रो’ गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।’

वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हो । तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उहाँ प्रदेश सांसद निर्वाचित हुनुभएको थियो। पछि उहाँले माओवादी केन्द्र रोज्नुभएको थियो। माओवादीले उहाँलाई लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनाएको थियो ।

लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उहाँले राज्यमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

Back to top button