सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबिच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान लगायतमा केन्द्रित थियो ।

प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसक्नुभएको छ । बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले २ देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गर्नुभयो ।

बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भन्नुभएको छ,‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान–प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको १ सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । उहाँले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गर्नुभयो ।c

Back to top button