नेपालले पठायो टर्की भूकम्प पीडितका लागि २२ टन राहत सामग्री

काठमाडौं । नेपाल सरकारले टर्की भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आज दिउँसो राहत सामग्री टर्की पठाइएको हो।

औषधि,मेडिकल उपकरण,न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित २२ टन सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत माघ २३ गते सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पपछि टर्कीको राहत र पुनःस्थापनाको प्रयासमा ऐक्यवद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार टर्कीमा राहत सामग्री पठाइएको हो।

टर्कीमा भूकम्पबाट ३३ हजार बढि मानिसको मृत्यु भएको र कयौं अझैं बेपता रहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। गत सोमबार फरक–फरक समयमा ७ दशमलव ८ र ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसपछिका ४ दिनमा मात्रै १ हजार २ सय ६ वटा पराकम्प गएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन्।

Back to top button