
बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितीमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको महाअभियान सुरु भएको छ । आज पूर्व राजपरिवारका सदस्यहरूलाई उपस्थित गराई प्रसाईंले आफ्नो महाअभियान सुरू गर्नुभएको हो ।
मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सँगै उहाँका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहलगायत सहभागि हुनुभएको थियो ।
प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गर्नुभएको हो । मेचीपछि महाकाली र काठमाडौंमा दीप प्रज्वलन गरेर महाअभियान अघि बढाउने प्रसाईले बताउनुभएको छ ।
कार्यक्रममा ढिला गरि पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले मञ्चमा राखिएको पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । त्यसपछि बटुकहरुको स्वस्तिवाचन सँगै उहाँले एक जोर परेवा उडाएर उहाँ कार्यक्रमबाट बिदा हुनुभयो ।
कार्यक्रममा राजनितिक दलका शिर्षस्थ नेताहरुलाई बोलाएको भनिएपनि कसैको उपस्थिती देखिएन ।