राष्ट्रिय ब्याडमिन्टन आज देखि

विराटनगर । नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजना हुने खेलकूद प्रतियोगिता आज देखि शुरु हुँदैछ । सप्ताहब्यापी खेलकूद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरु विराटनगर आइसकेका नेपाल खेलकुद महासंघ प्रदेश १ का इन्चार्ज सन्तोष वान्तवाले जानकारी दिनुभयो ।

फागुन ७ गते विराटनगरमा हुने महासंघको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज  देखि नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा सहभागी हुन देशभरका खेलाडीहरु विराटनगरमा आईसकेको छन् ।

क्षेत्रीय र राष्ट्रिय गरि ३ सय बढी खेलाडीले ब्याडमिन्टन प्रायोगितामा सहभागी जनाउने आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालास्थित कभर्डहलमा शुरू हुने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले गर्ने कार्यक्रम रहेको छ । फागुन ६ गते जिल्ला स्तरीय करातेँ प्रतियोगिता र फागुन ७ गते विहान केपी ओली रोडरेस प्रतियोगिता हुनेछ ।

पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको ११ विधामा ६ लाख ६० हजार नगद पुरस्कारमा खर्च हुने प्रतियोगिताका संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा १५ बर्ष मुनिका, पुरूष सिङ्गल र डबल, महिला सिङ्गल र डबल, भेट्रान ४५ बर्ष माथिका, मास्टर भेट्रान ५५ बर्ष माथिका प्रतियोगितामा सहभागी हुनेछन् ।

बर्गिकरण गरिएका खेलाडीहरू मध्ये रेङ्किङमा परेका २० जना पुरूष खेलाडी र रेङ्किङमा परेका १२ महिला खेलाडीहरू प्रतियोगितामा सहभागीता जनाउने छन् । रेङ्किङका खेलाडीले प्रत्येक खेलमा विजयी भए वापत नगद १५ सय प्राप्त गर्दै जाने संयोजक श्रेष्ठले बताउनुभयो ।

Back to top button