टर्की र सिरिया भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते सोमबार गएको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको १ सय ७५ घण्टापछि १ जनालाई जीवितै उद्धार गरिएको छ ।

टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् ।

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया गत सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।

दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ ।

Back to top button