अमेरिकाको एक युनिभर्सिटीमा गोली चल्दा ३ जनाको मृत्यु, ५ घाइते ​​​​​

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार हिजोराति विश्वविद्यालयका २ स्थानमा गोली हानाहान भएको थियो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएको अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए ।

यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ । चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो ।

आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन ।

Back to top button