
धनगढी । नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनुभएको छ । आज प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।’
नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गर्नुभयो । राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले भन्नुभयो,‘चर्चा गरिदिएकोमा धन्यवाद ।’
राष्ट्रपति निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।
‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ नेता खनालले भन्नुभयो, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’