पत्रकार झालाई गोतामे स्वर्ण पदक प्रदान

वीरगञ्ज । जनकपुरकी पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वितरण गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उहाँलाई स्वर्ण पदक प्रदान गरेको हो ।

स्वर्ण पदक १ तोलाको छ । उहाँ नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष र अन्नपूर्ण पोष्ट दैनिकको मधेस प्रदेश ब्युरो प्रमुख समेत हो ।

वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले वीरगञ्जको लक्ष्मणवा स्थित जेष्ठ नागरिक पार्कमा कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिएको थियो । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले प्रतिष्ठानको तर्फबाट स्वर्ण पदक पत्रकार झालाई प्रदान गर्नुभएको थियो।

प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले काठमाण्डौं बाहिर संघर्ष गरेर समाजलाई योगदान दिने पत्रकारलाई स्वर्ण पदक प्रदान गर्ने गरिएको बताउनुभयो । पत्रकार गोतामेले सिमान्त सहर वीरगञ्जमा बसेर मातृभूमि पत्रिकाको अन्तिम पेजमा लेख्ने गर्नुहुन्थ्यो ।

गतवर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापा, लगायतले यो पुरस्कार पाईसक्नुभएको छ ।

Back to top button