फागुन ११ गतेबाट हात्तीपाइलेविरुद्धको औषधि अभियान सञ्चालन गरिने

विराटनगर । मोरङमा फागुन ११ गतेबाट हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने भएको छ । मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सुरु गरिने भएको हो । अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

मोरङमा औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना छन् । ती मध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । मोरङमा हात्तीपाइलेविरुद्ध १२ औं चरणको अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

हात्तीपाइलेलाई निर्मुल पार्न यो वर्ष घर–घरमा पुगेर औषधि खुवाइने उहाँले जानकारी दिनुभयो । अभियान सञ्चालनका लागि २ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालित हुनेछन् । मोरङमा १ सय १२ जना हात्तीपाइलेका बिरामी छन् ।

Back to top button