राष्ट्रिय हितमा आँच आउनेगरि एमाले सत्ता स्वार्थमा लाग्दैनः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताउनुभएको छ ।

उहाँले देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको भन्दै उहाँले त्यस्तो डकैति हुन नदिन एमाले पाले बन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

हामीले मातृभूमिको रक्षा गर्ने हो भन्दै उहाँले मातृभूमिको स्वाधीनता बचाएर राख्न भूमिका निर्वाह गर्ने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘एमाले राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्न सक्दैन ।’

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमाले अध्यक्ष ओलीले बुर्जुवा शिक्षा बहिष्कार गर्ने नारा बेठिक रहेको बताउनुभयो ।

उहाँले त्यस्तो गर्नुभनेको मान्छेलाई अनपढ बनाउने बाटो रोज्नुरहेको बताउनुभयो । उहाँले अनेरास्ववियुका विद्यार्थी ट्यालेन्ट हुनुपर्छ भन्दै आन्दोलनले गर्दा पढ्नै पाइएन भन्न नपाइने समेत बताउनुभयो । उहाँले अनेराश्ववियु भनेर परिचयपत्र देखाएर हिड्ने मात्रै नभई विचार, तर्क, उत्कृष्ट अध्ययनले अनेरास्ववियु चिन्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले आफु पनि अनेराश्ववियुको पदाधिकारी समेत हुन नपाएको उल्लेख गर्दै अध्यक्ष ओलीले संगठनको अध्यक्ष बन्नुमात्र ठूलो कुरा नभएको बताउनुभयो ।

उहाँले निर्देशनात्मक रुपमा भन्नुभयो,‘अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो, महत्वाकांक्षा बोक्ने संस्था होइन । देशको समृद्धिको उद्देश्य बोक्ने हो ।’ अध्यक्ष ओलीले विद्यार्थी आन्दोलन विद्रोहीमात्रै नभएर सचेत आन्दोलनकारी हुनुपर्ने बताउनुभयो ।

Back to top button