निलम्बित सांसद चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली लगियो

धनगढी । निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

गत १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।

२९ गते देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधिमार्फत बयान दिनुहुने छ । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

यस्तै, ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। अहिले उहाँ कैलाली कारागारमा कैद भोगिरहनुभएको छ ।

Back to top button