शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सक्रिय भएका छन् : सांसद केसी

काठमाडौं । सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरु प्रत्यक्ष रुपमै राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सक्रिय भएर लागिरहेको दाबी गर्नुभएको छ । आज संसद बैठकमा बोल्दै सांसद केसीले शक्ति राष्ट्रहरु राष्ट्रपति चुनावमा आफू अनुकुल व्यक्ति बनाउन लागिरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमै राष्ट्रपति चुनावमा सक्रिय भएको पाइयो। यसले नेपालको राष्ट्रिय स्वाभिमानमाथि दाग लाग्छ।’

सांसद केसीले नेपालका शीर्ष नेताहरु भारतमा जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने तर भारतका कर्मचारीले नेपालका राष्ट्र प्रमुखसँग सजिलै भेट्ने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘भारतका परराष्ट्र सचिवले नेपालका शीर्ष नेताहरुसँग भेटघाटको अभियान चलाउनुभयो। राष्ट्र सानो ठूलो हुनसक्छ। तर, सार्वभौम सत्ता, भौगोलिक अखण्डताका हिसाबले सानो ठूलो हुँदैन। नेपालबाट पूर्व प्रधानमन्त्री जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्।’

सांसद केसीले विदेशीहरुको अगाडि लम्पसार परेको किन? भन्दै सरकारसंग प्रश्न गर्नुभयो।

Back to top button