मानवअधिकार आयोगलाई संस्थागत र संरचनागतरूपमा बलियो बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागतरूपमा बलियो बनाउने बताउनुभएको छ ।

आज दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा उहाँले नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छबि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिने बताउनुभयो।

‘आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ, भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगलाई बलियो बनाउनमा आफ्नो पूरा प्रयत्न रहने बताउनुभयो।

‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पुरै गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

सो छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनावद्ध रूपमा पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।

Back to top button