मापसे गरेर झगडा गरेपछि कलाकार ‘म्याकुरी’ पक्राउ

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई गएराति पक्राउ गरेको हो ।

उहाँहरूमाथि मादक पदार्थ पिएर झगडा गरेको आरोप छ। गएराति बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मादक पदार्थ पिएर खतिवडाले झगडा गर्नुभएको थियो।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभयो।

पीडित पक्षले इलाकामा आएर अहिलेसम्म जाहेरी नदिएको प्रहरीले जनाएको छ। छलफलको लागि दुवै पक्ष आउने भनिएको र पीडितले जाहेरी दिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो। मिलापत्र भएको अवस्थामा मात्रै उहाँलाई छाडिने डिएसपी कार्कीले बताउनुभयो ।

Back to top button