प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बालुवाटार पुग्नुभएको हो ।

गत पौष १० गते प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। पुष २६ मा कांग्रेससहित २ सय ६७ सांसद्बारा विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ।

पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्।

ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याइ रहनुभएको छ । प्रचण्डसँगको यस अगाडिको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्नुभएको थियो ।

यस्तै, राष्ट्रपति निर्वाचनको मिति नजिकिन थालेपछि नेताहरुले छलफल तीब्र बनाएका हुन्। ओलीसँग भेट्नु अगाडि आज बिहान पनि प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरिसक्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उहाँ कांग्रेसतिर ढल्किरहनुभएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।

Back to top button