![](https://koshisandesh.com/wp-content/uploads/2022/12/chandra-bhandari.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/12/chandra-bhandari.jpg)
काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लगिएको छ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उहाँसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।
क्रिटिकल केयर हेड डा. प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा. वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ जानुभएको हो ।
हिजो राती आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो। घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो।
आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ। भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नेता भण्डारीको २५–३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।