फागुन ११ देखि २० गतेसम्म धरान एक्स्पो हुने

विराटनगर । यही फागुन ११ गतेदेखि २० गतेसम्म धरान एक्स्पो हुने भएको छ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म धरान रंगशालामा एक्स्पो हुन लागेको हो।

स्थानीय उत्पादनको बिक्री वितरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले धरान एक्स्पोको आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

उहाँले सुनसरीका १२ स्थानीय निकायमा उत्पादन भएका सबै वस्तुहरू एक्सोमा प्रदर्शनीमा राखिने बताउनुभयो। प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको धरान एक्स्पोमा ११३ वटा स्टल रहने कार्यक्रम संयोजक गोपाल श्रेष्ठले बताउनुभयो।

उहाँले एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बङुर, लोकल रक्सी र जिल्लाभरीका कृषि उत्पादनलाई बिक्री वितरणमा राखिने बताउनुभयो।

धरान एक्स्पोलाई थप मनोरञ्जन प्रदान गर्न हरेक दिन राष्ट्रिय स्तरका कलाकार ल्याएर मनोरन्जन प्रदान गरिने कार्यक्रमका प्रचार सचिव शशी साहले बताउनुभयो। दैनिक ३० हजार जनाले अवलोकन गर्ने धरान एक्स्पोबाट १० करोडको कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष प्रभाव खतिवडाले बताउनुभयो।

उहाँले स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाको उत्पादनलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने बताउनुभयो। पछिल्लो समय धरानको व्यापार व्यवसाय घट्दै गएकाले व्यावसायिक शाख पुनर्जीवित गराउनका लागि एक्स्पोको आयोजना गरिएको संघका उपाध्यक्ष रामस्वरूप शर्माले बताउनुभयो।

Back to top button