जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको संयुक्त टोलीले बिहान बालुवाटार पुगेर प्रचण्डलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको हो। जनमोर्चाले गणतन्त्र, राष्ट्रियतालगायत समसामयिक विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्टलगायतका नेता सहभागी हुनुहुन्थ्यो । अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भएपनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासिन भएको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ।

गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन। प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए।

Back to top button