महाशिवरात्रिका लागि पशुपतिनाथको सजावट सम्पन्न

काठमाडौं । भोलि महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र रंगीचंगी बनाइएको छ। प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन पर्ने हिन्दू धर्मावलम्बीको यो महान् चाड यसपटक फागुन ६ गते (शनिबार) परेको छ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आकर्षित गर्न विद्युतीय बत्ती र फूलका अनेक स्वरुपले पशुपति क्षेत्र सजाइएको छ।

भगवान् शिव उत्पत्ति भएको रातका नामबाट राखिएको महाशिवरात्रिका लागि कोषले पशुपति प्रांगण र कोर क्षेत्रमा फूलले सिँगारेको छ। भोलिको दिन पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआजाका लागि लाइनबाट प्रवेश गर्ने भक्तजनका लागि सम्पदामैत्री ढंगले पुरातात्त्विक डिजाइनको काठका र्‍याम्पहरू निर्माण गरिएको छ। कोषले व्यापक रूपमा सरसफाइ गरेको छ भने भित्ता र संरचनाहरूमा रंगरोगन गरेको छ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिका लागि फूल र बिजुली बत्तीको प्रयोग गरी पाशुपत क्षेत्र आकर्षक बनाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘महाशिवरात्रिमा कोषले हरेक वर्ष केही न केही आकर्षण दिएकै छ। यसवर्ष भारतबाट आउनु भएका शंकराचार्य आकर्षणको केन्द्र हुनुहुन्छ।’ यो कोष स्थापना भएयता ३५ वर्षको इतिहासमा पहिलोपटक शंकराचार्यको आगमन भएको उहाँको भनाइ छ।

महाशिवरात्रिका लागि भारतको जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती स्वामी १० सदस्यीय टोलीका साथ हिजो साँझ ८ बजे काठमाडौं आउनुभएको छ । उहाँका अनुसार, शंकराचार्यले पाशुपत क्षेत्रमा वेद, पुराण, वैदिक गणित र संस्कृत आचरण आदिबारेमा प्रवचन दिनुहुने छ।

आज साँझ शंकराचार्यले आशिर्वचन दिने कार्यक्रम छ। थापाले भन्नुभयो, ‘हिन्दू धर्मावलम्बीका संरक्षक एवं सर्वोच्च व्याख्याता मानिने चार शंकराचार्यमध्ये निश्चलानन्द सबैभन्दा वरिष्ठ शंकराचार्य हुनुहुन्छ।’ शंकराचार्यको स्वागत र अभिनन्दन गर्न उपसमिति बनाइएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनःले शंकराचार्यलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, महाशिवरात्रि पर्वलाई विशेष रुपमा मनाउन कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा २०१ सदस्यीय महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति र मातहतमा विभिन्न ८ क्षेत्रमा उपसमिति बनाएर कार्य भइरहेको छ।

महाशिवरात्रिका दिन भोलि राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ आउने र राष्ट्रको शान्ति र समृद्धिका लागि पूजाआजा गर्ने कार्यक्रम रहेको छ। कोषले यस वर्षको महाशिवरात्रिका लागि ८० लाख रुपैयाँ खर्चिने भएको अधिकारीको भनाइ छ। कोषका कोषाध्यक्ष एवं महाशिवरात्रि प्रचारप्रसार संयोजक नारायणप्रसाद सुवेदीका अनुसार महाशिवरात्रिका लागि यसपटक करिब ५ हजार साधुसन्त पाशुपत क्षेत्रमा आएका छन्।

यस्तै, कोषले भोलि पशुपतिमा पूजा र दर्शनका लागि ३ वटा लाइनको व्यवस्था गरेको छ भने मन्दिर प्रवेशका लागि ४ वटै ढोका खुला गर्ने भएको छ। गौशाला, तिलगंगा र जयबागेश्वरीबाट लाइन सुरु हुनेछन्।

वर्षभरिमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी ४ रात्रि हुन्छन्। जसमध्ये शिवरात्रिलाई पवित्र रात्रिका रुपमा शिव महापुराणमा वर्णन गरिएको छ। पशुपतिनाथ, भोलेबाबा, जयशम्भो भनी पुकारिने भगवान् शिवको धेरै ऋषि, महर्षि र ब्रह्मज्ञानीहरूले पूजाआराधना गरेर फल पाएको सन्दर्भ पनि पुराणमा पाइन्छ। शिव महापुराणमा शिवलाई भयानक रौद्र रुप भएकादेखि चाँडै प्रसन्न भइदिने भगवान् आशुतोष भनी वर्णन गरिएको छ। एकतामा अनेकता अनि अनेकतामा एकता नै शिव तत्त्व हो भनी शिवको विशेषता बताइएको छ।

Back to top button