एमालेको पार्टी सुदृढीकरण अभियान ‘मिसन ग्रासरुट’ शुरू

काठमाडौं । नेकपा एमालेको आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गर्नुभएको छ । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ ।

अभियानका क्रममा पार्टी सदस्यता नवीकरण,कमिटी व्यवस्थापन,प्रशिक्षण, भेला,बैठक,अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने,पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन हुनेछ ।

यस्तै, एमालेले सातै प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । जसअन्तर्गत् केन्द्रीय पदाधिकारीलाई प्रदेशको जिम्मा र केन्द्रीय सदस्यलाई स्थानीय तह हेर्ने गरी जिम्मा दिएको छ ।

विशेष कमिटीहरूको अनुगमन तथा संयोजनको नेतृत्व विशेष कमिटीका महासचिव शंकर पोखरेल,उपमहासचिवहरू प्रदीप ज्ञवाली,पृथ्वी सुब्बा गुरूङ,विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

Back to top button