जर्मनीको घर बेचेर रामेछापमा डेन्टल अस्पताल निर्माण

रामेछाप । जर्मन नागरिक डा. जोन एडर्सनले जर्मनीको आफ्नो घर बेचेर रामेछापमा दाँतको उपचार गर्ने अस्पताल बनाउनुभएको छ ।

रामेछाप नगरपालिका वडा नं–३ साँघुटारमा एडर्सनले सुविधा सम्पन्न डेन्टल अस्पताल निर्माण गर्नुभएको हो । जर्मन रोटरी भोलन्टियर डाक्टरर्स् भन्ने संस्थामा आवद्ध डाक्टर जोन १० वर्ष अघि नेपाल आएर सामाजिक सेवामा सक्रिय हुनुहुन्छ।

उहाँले भन्नुभयो,‘मलाई नेपालको माया लाग्छ नेपालीहरूको सेवा गर्न पाउँदा आनन्द हुन्छ।’ ८४ वर्षीय डाक्टर एडर्सन दन्त विशेषज्ञ डाक्टर हो ।

आफ्नो योजना भनेको मानिसको दाँत कसरी स्वस्थ्य बनाउने भन्नेमा केन्द्रित हुने उहाँको भनाइ छ। विशेषगरि स्कुल र विद्यार्थीलाई केन्द्रित गरेर उहाँले हिमगंगा उच्च मावीको परिसरमा साँघुटार रोटरी डेन्टल क्लिनिक नामक दन्त अस्पताल निर्माण गर्नुभएको हो ।

बालबालिका अवस्था देखिनै दाँतको राम्रो हेरबिचार गर्न सके कसैलाई पनि दाँतको समस्या नहुने जोनको तर्क छ। उहाँले भन्नुभयो,‘मलाई सम्पत्ति कमाउनु छैन मैले कमाएको र मेरो सम्पत्ति सामाजिक सेवामा लगाउँछु त्यसको पहिलो प्राथमिकतामा नेपाल छ।’

जिल्ला सदरमुकाम मन्थलीबाट करिब ३४ किलोमीटरको दूरीमा रहेको ओखलढुंगासँग सीमा जोडिएको साँघुटार बजारमा जोनले विशेषज्ञ डाक्टरसहितको सुविधा सम्पन्न दन्त अस्पताल बनाएपछि शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन्। गाउँमा नै शहरको सुबिधा पाएको भन्दै डाक्टर जोनलाई विद्यालय र स्थानीयले भब्य स्वागत गरेका छन् भने पुष्प गुच्छा र अबिर यात्रा गर्दै बजार परिक्रमा समेत गराएका छन्।

उहाँको संमानमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,‘मेरो स्वस्थ्य अवस्था दिन दिनै कमजोर हुँदै गएको छ। अब म जर्मन गएपछि हाम्रो भेट नहुन पनि सक्छ। यो भेट नै अन्तिम भेट हुन पनि सक्छ। मैले अहिलेसम्म यति ठूलो सम्मान पाएको थिइन्। अब स्थानीयबासी र सरकारसँग आग्रह गर्छु अस्पताल बन्द हुने वातावरण नबनोस्।’

यस्तै, डाक्टर जोनले रामेछापलगायत सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, सिन्धुलीका गाउँ–गाउँमा दातका शिविर संचालन गर्दै आउनुभएको छ ।

Back to top button